कलेजो रोगले थलिएकी नुवाकोट भद्रुटारकी सुनिताको पीडा : उपचार खर्च जुटाउन परिवारको आह्वान
नुवाकोट, चैत ८ — नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटार राम्चेकी ४० वर्षीया सुनिता पन्त गम्भीर कलेजो रोगबाट पीडित भएकी छन्। कलेजोमा समस्या बढ्दै जाँदा उनको पेट अत्यधिक सुन्निएको छ भने सामान्य हिँडडुल गर्न समेत नसक्ने अवस्थामा पुगेकी छन्।
उपचारको अभावमा स्वास्थ्य अवस्था झन् जटिल बन्दै जाँदा परिवार गम्भीर आर्थिक संकटमा परेको छ। श्रीमान् राम पन्थ दिनरात उनकी हेरचाहमा खटिए पनि कमजोर आर्थिक अवस्थाका कारण उपचार अगाडि बढाउन नसकिएको हो । परिवारसँग नियमित खानपान जुटाउनसमेत कठिन भइरहेको अवस्थामा महँगो उपचारको जोहो गर्नु उनीहरूका लागि चुनौती बनेको छ।
काठमाडौंस्थित वीर अस्पतालमा उपचारको प्रयास गरिए पनि आवश्यक खर्च अभावका कारण उपचार प्रक्रिया अघि बढ्न नसकेको परिवारको भनाइ छ। चिकित्सकका अनुसार सुनिताको उपचारका लागि करिब ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
परिवारमा ११ वर्षीया एक छोरीसमेत रहेकी छन्, जसको भविष्यप्रति पनि चिन्ता थपिएको छ। आर्थिक अभावकै कारण श्रीमतीको ज्यान जोगाउन नसकिने हो कि भन्ने चिन्ताले आफू रातभर निदाउन नसक्ने श्रीमान् राम पन्थ बताउँछन्।
परिवारले सुनिताको जीवन बचाउन सहयोगका लागि सबैसँग आग्रह गरेको छ। इच्छुक सहयोगीले ९७६२६६०२०७ नम्बरमा सम्पर्क गर्न वा एनआईसी एशिया बैंकको खाता नम्बर ०५३५७५३४९१२७३००१ मा सहयोग गर्न सक्ने जनाइएको छ।

