प्रधानमन्त्रीसँग रवि लामिछानेको भेट, निर्वाचन सफलताप्रति बधाई
काठमाडौँ, चैत ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा भेटवार्ता गर्नुभएको छ।
भेटमा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सम्पन्न निर्वाचनलाई ऐतिहासिक र सफल भन्दै बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई देशले लोकतान्त्रिक निकास पाएको उल्लेख गर्दै यसलाई सामान्य उपलब्धि नभएको बताउनुभयो।
लामिछानेले प्रधानमन्त्रीको दृढता र स्पष्ट अडानकै कारण मुलुकले शान्तिपूर्ण निकास पाएको उल्लेख गर्दै सानो टोली र छोटो समयमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु उल्लेखनीय भएको धारणा राख्नुभयो। साथै, आगामी दिनमा पनि प्रधानमन्त्रीको अनुभव र मार्गदर्शन आवश्यक रहने बताउनुभयो।
प्रधानमन्त्री कार्कीले भने रास्वपाले निर्वाचनमा हासिल गरेको सफलताका लागि बधाई दिँदै जनताका अपेक्षाअनुसार काम गर्न सुझाव दिनुभयो। उहाँले युवापुस्ताप्रति जनताको ठूलो आशा रहेको उल्लेख गर्दै देशको अवस्था सुधार गर्न जिम्मेवार ढंगले अघि बढ्न आग्रह गर्नुभयो।प्रधानमन्त्रीले इमानदारीपूर्वक काम गरेमा आलोचनाको जवाफ कामबाटै दिन सकिने बताउँदै चुनौतीपूर्ण अवस्थाका बाबजुद धैर्यताका साथ अघि बढ्न सुझाव दिनुभयो।
भेटमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो।सभापति लामिछानेले वर्तमान सरकारले गरेका निर्णयप्रति आफ्नो पार्टीको कुनै आपत्ति नरहेको स्पष्ट पार्दै सरकारका कामलाई समर्थन रहने बताउनुभयो।
उहाँले अर्को सरकार गठन नभएसम्म वर्तमान सरकारले पूर्ण क्षमताका साथ काम गर्नुपर्ने धारणा पनि राख्नुभयो। साथै, विदेशमा रहेका नेपाली विद्यार्थी र श्रमिकको समस्या तथा पेट्रोलियम आपूर्तिको विषयमा पनि ध्यान दिन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो।

