‘ई–पेन्सन’ सेवा सुरु, अब पेन्सनका लागि धाउन नपर्ने



काठमाडौँ, चैत ९  । राष्ट्रिय किताबखाना (निजामती) ले सेवाग्राहीलाई सहज बनाउन ‘ई–पेन्सन’ सेवा सुरु गरेको छ। अब सरकारी कर्मचारीले अवकाशपछि पेन्सन वा उपदानका लागि कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ।

महानिर्देशक श्रवणकुमार पोखरेल का अनुसार ई–पेन्सन कार्यान्वयनसँगै किताबखाना पूर्ण रूपमा ‘फेसलेस’ सेवामा रूपान्तरण भएको छ। देशभरका कुनै पनि सरकारी कार्यालयबाट अवकाश प्राप्त कर्मचारीले अनलाइनमार्फत नै पेन्सनपट्टा प्रक्रिया पूरा गर्न सक्नेछन्।

यसअघि अवकाशपछि पेन्सनपट्टा बनाउन सेवाग्राहीले पटक–पटक किताबखाना पुग्नुपर्ने झन्झट थियो। हाल वार्षिक करिब तीन हजारभन्दा बढी कर्मचारी अवकाश हुने गरेका छन्।

नयाँ प्रणालीअनुसार प्रारम्भिक चरणमा ७७ वटै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सहजीकरण गर्नेछन्।सम्बन्धित कार्यालयले आवश्यक विवरण ‘अपलोड’ गरेपछि किताबखानाले डिजिटल रूपमा प्रमाणीकरण गरी पुनः प्रणालीमार्फत नै स्वीकृति दिने व्यवस्था गरिएको छ।

सेवा स्वीकृत भएपछि सम्बन्धित कर्मचारीले आफूले रोजेको बैंकमा पेन्सन खाता खोल्न सक्नेछन्। साथै, आवश्यक कागजातहरू कार्यालयबाटै व्यवस्थापन हुने गरी सेवा ‘डिजिटलाइज’ गरिएको छ।महानिर्देशक पोखरेलले आवश्यक परे सम्बन्धित कार्यालयबाटै कर्मचारीलाई एकपटकका लागि ई–पेन्सन सेवा उपलब्ध गराउने व्यवस्था पनि गरिएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्