सुडानमा अस्पतालमाथि आक्रमण, ६४ जनाको मृत्यु



सुडान,चैत ९ । युद्धग्रस्त सुडानमा अस्पतालमाथि गरिएको आक्रमणमा कम्तीमा ६४ जनाको मृत्यु भएको छ भने ८९ जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम Associated Press का अनुसार मृतकमध्ये १३ जना बालबालिका रहेका छन्।

विश्व स्वास्थ्य सङ्गठन का महानिर्देशक टेड्रोस गेब्रेयसस ले पूर्वी डार्फरस्थित अल डेइन शिक्षण अस्पतालमा भएको आक्रमणपछि अस्पताल पूर्ण रूपमा निष्क्रिय बनेको जानकारी दिएका छन्। यसले घाइते र बिरामीहरूको उपचारमा गम्भीर संकट सिर्जना गरेको छ।सन् २०२३ अप्रिलदेखि सुडानमा नियमित सेना र अर्धसैनिक द्रुत समर्थन बलबीचको द्वन्द्व तीव्र बनेको छ। सोही द्वन्द्वका क्रममा स्वास्थ्य संस्था लगायत नागरिक पूर्वाधारहरू बारम्बार निशानामा पर्दै आएका छन्।

आक्रमणको जिम्मेवारीबारे दुवै पक्षले एकअर्कामाथि आरोप लगाएका छन्। द्रुत समर्थन बलले सेनामाथि दोष लगाएको छ भने सेनाले अस्पतालमा आक्रमण गरेको अस्वीकार गरेको छ। केही सैन्य स्रोतहरूले भने नजिकैको प्रहरी चौकीलाई लक्षित गरी आक्रमण भएको दाबी गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार हालसम्मको द्वन्द्वमा ४० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने विभिन्न सहायता संस्थाहरूले वास्तविक संख्या अझ बढी हुन सक्ने बताएका छन्। साथै, विश्व स्वास्थ्य सङ्गठनका अनुसार युद्ध सुरु भएयता स्वास्थ्य संस्थामाथि भएका आक्रमणमा मात्रै दुई हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्