नुवाकोटका बेपत्ता युवक काठमाडौंमा भेटिए
नुवाकोट, चैत ९ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटार च्वान्डाँडाबाट बेपत्ता भएका १७ वर्षीय युवक संकल्प लोहनी काठमाडौंमा भेटिएका छन्।
बिहीबार बेलुकादेखि सम्पर्कविहीन भएका उनी सोमबार बिहान काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा फेला परेका हुन्।
चैत ५ गते “खत्रीबेसीमा नारायण पूजा जान्छु” भन्दै घरबाट निस्किएका संकल्प त्यसयता परिवारसँग सम्पर्कमा थिएनन्। खोजीका क्रममा आइतबार उनको सिसिटिभी फुटेज फेला परेको थियो, जसले परिवार र स्थानीयवासीमा आशा जगाएको थियो। सिसिटिभी फुटेजअनुसार उनी राति १० बजेर ५१ मिनेटमा छहरेतर्फ एक्लै हिँड्दै गरेको देखिएका थिए।
परिवारले छहरेस्थित अस्थायी प्रहरी चौकीमा निवेदन दिएर खोजी तीव्र पारेको थियो भने स्थानीयवासीले विभिन्न स्थानमा खोजी अभियान सञ्चालन गरेका थिए।
बच्छला मावि भद्रुटारमा कक्षा ९ मा अध्ययनरत युवकको वार्षिक परीक्षा चलिरहेकोले घर फर्काउने तयारी भैरहेको युवकको हजुरबुवा सनतबहादुर लोहनीले बताए । काठमाडौंमा सुरक्षित अवस्थामा फेला परेपछि परिवारमा राहतको अनुभूति भएको छ।

