मलद्वारमा लुकाएर लागूऔषध ल्याउने दुई जना पक्राउ



काठमाडौं, चैत ९ । भारतबाट मलद्वारमा लुकाएर लागूऔषध नेपालतर्फ ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।आइतबार साँझ करिब ६ बजे मेचीनगर–६ पुरानो मेची पुल क्षेत्रमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटङ्कीबाट सिटी सफारीमा नेपालतर्फ आइरहेका ३१ वर्षीय सनम बुर्जा मगरलाई पक्राउ गरेको हो। उनी सर्लाही ईश्वरपुर–४ घर भई हाल झापाको अर्जुनधारा–११ बसपार्क क्षेत्रमा बस्दै आएका थिए।

प्रहरीले शरीर तलासी लिँदा उनले मलद्वारमा लुकाएर ल्याएको प्लास्टिकसहित ८७ ग्राम ५४० मिलिग्राम तथा प्लास्टिकबाहेक ७३ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला परेको जनाएको छ। उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टा मार्फत थप अनुसन्धान भइरहेको छ।

यसैबीच सोमबार बिहान करिब ८ बजे सोही मेची पुल क्षेत्रमा धादिङ गंगाजमुना गाउँपालिका–५ का ४४ वर्षीय प्रकाश अधिकारी पनि पक्राउ परेका छन्। उनलाई पनि सिटी सफारीमार्फत नेपालतर्फ आउँदै गर्दा प्रहरीले सोधपुछ गरी मलद्वारमा लुकाइएको प्लास्टिकसहित १० ग्राम ४३० मिलिग्राम तथा प्लास्टिकबाहेक ९ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्