अर्थविद् केशव आचार्यको निधन



काठमाडौँ, चैत ९ — प्रख्यात अर्थविद् केशव आचार्यको निधन भएको छ। उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

आचार्यका छोरा शिखरका अनुसार उनको शव हाल चाबहिलस्थित ओम नर्सिङ होममा राखिएको छ। उनकी छोरी अचला अमेरिकाबाट मंगलबार बिहान काठमाडौँ आइपुगेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने तयारी गरिएको छ।

गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि मेडिकेयर अस्पताल भर्ना गरिएको थियो। त्यसपछि मस्तिष्कघातको उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा सारिएको थियो।

नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी सेवा गरेका आचार्य कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गरेका थिए। उनले अर्थ मन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकारका रूपमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। मौद्रिक तथा वित्तीय नीतिका ज्ञाता मानिने आचार्यको निधनले आर्थिक क्षेत्रलाई ठूलो क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस्