एसईई केन्द्रित विशेष कक्षा : नुवाकोटका विद्यालयमा बढ्दो अभ्यास, विद्यार्थीमा नयाँ ऊर्जा



नुवाकोट,चैत ९— माध्यमिक शिक्षा परीक्षा (एसईई) यही चैत १९ गतेदेखि सुरु हुँदैछ । परीक्षा नजिकिँदै जाँदा नुवाकोटका विभिन्न गाउँपालिकामा विशेष तयारी कक्षा सञ्चालनले गति लिएको छ। लिखु, शिवपुरी र पञ्चकन्या गाउँपालिकासहितका अधिकांश माध्यमिक विद्यालयहरूले विद्यार्थीको नतिजा सुधार्ने लक्ष्यसहित अतिरिक्त कक्षा सञ्चालन गरिरहेका छन्।

लिखु गाउँपालिकाका शिक्षा शाखा प्रमुख शेरसिंह रावतका अनुसार गाउँपालिकाभित्रका सात वटा माध्यमिक विद्यालयमा एसईई लक्षित विशेष कक्षा सञ्चालन भइरहेका छन्। बच्छला माध्यमिक विद्यालय, महेन्द्र महेशदेव मावि र क्षेत्रपाल माध्यमिक विद्यालयले विद्यार्थीलाई केन्द्रित गरेर अतिरिक्त अभ्यास कक्षा सञ्चालन गर्दै आएका छन्।

उता शिवपुरी गाउँपालिकामा पनि यस्तो अभ्यास व्यापक बन्दै गएको छ। जनज्ञान निकेतन माध्यमिक विद्यालयले त मंसिर महिनादेखि नै एसईई तयारी कक्षा सुरु गरेको हो । विद्यालयका प्रधानाध्यापक अर्जुन लामिछानेका अनुसार कक्षा १० का विद्यार्थीलाई विद्यालयमै राखेर बसोबास र खानाको व्यवस्था सहित पढाइ सञ्चालन गरिएको छ। “प्रति विद्यार्थी मासिक सात हजार रुपैयाँ शुल्कमा खाना, बसाइ र अतिरिक्त कक्षा व्यवस्था गरिएको छ,” उनले बताए।

विद्यार्थीहरू पनि यस व्यवस्थाबाट सन्तुष्ट देखिन्छन्। कक्षा १० की छात्रा कुसुम भण्डारी भन्छिन्, “हामीलाई छुट्टै आवासको व्यवस्था छ। खाना, बेलुकी कक्षा र आवश्यक सहयोग विद्यालयले नै मिलाइदिएको छ, जसले पढाइमा ध्यान केन्द्रित गर्न सहज भएको छ।”

शिवपुरीकै भूमेदेवी मावि, कालिका मावि र समुन्द्रादेवी माविमा पनि एसईई तयारी कक्षा सञ्चालन भइरहेका छन्। यस्तै, पञ्चकन्या गाउँपालिकाका विद्यालयहरू—राष्ट्रिय मावि र नवसन्जिवनी मावि लगायतले पनि विशेष कक्षा सञ्चालन गरिरहेका छन्। पञ्चकन्या शिक्षा शाखा प्रमुख धर्मसिंह रिमालका अनुसार यी कक्षाले विद्यार्थीलाई परीक्षा प्रति थप जिम्मेवार बनाएको देखिन्छ ।

शिक्षा विज्ञहरूका अनुसार यस्ता तयारी कक्षाले विद्यार्थीलाई डिजिटल विचलनबाट टाढा राख्दै अध्ययनमा केन्द्रित गराउन सहयोग पुर्‍याएको छ। “विद्यार्थीमा पुस्तकप्रतिको चासो बढाउन र नियमित अध्ययन बानी बसाल्न यी कक्षा प्रभावकारी देखिएका छन्,” शिक्षा प्रमुख रिमालले बताए।

गत वर्ष लिखु र शिवपुरीका केही विद्यालयले राम्रो नतिजा ल्याएको सन्दर्भमा यस वर्ष पनि थप सफलता दोहोरिने अपेक्षा गरिएको छ।एसईई नजिकिँदै गर्दा सञ्चालन गरिएका यी विशेष कक्षाले विद्यार्थीमा आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता दुवै बढाएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्