साफ यू–२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत, भुटान २–१ ले पराजित
काठमाडौँ,चैत ९ — साफ यु ट्वान्टी च्याम्पियनसिप (SAFF U-20 Championship) अन्तर्गत बीस वर्षमुनिको प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आज सम्पन्न उद्घाटन खेलमा नेपालले भुटानलाई २–१ गोलले पराजित गरेको हो।
नेपालको जितमा सुजन डङ्गोल र सुवास बमले एक–एक गोल गरे। भुटानका लागि धेनदुप ग्यालसेनले सान्त्वना गोल फर्काए। खेलको पाँचौँ मिनेटमै सुजन डङ्गोलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफको ५२औँ मिनेटमा सुवास बमले अर्को गोल थप्दै नेपाललाई २–० को बलियो अवस्थामा पुर्याए।
खेलको ८३औँ मिनेटमा भुटानका धेनदुप ग्यालसेनले गोल फर्काए पनि त्यसपछि थप गोल हुन नसक्दा नेपालले २–१ को जित सुरक्षित गर्यो।यस जितसँगै नेपालले प्रतियोगितामा सुखद सुरुआत गर्दै आगामी खेलका लागि आत्मविश्वास थपेको छ।

