नयाँ सरकारको प्रतीक्षामा सिंहदरबार सिंगारिँदै



काठमाडौँ, चैत ९ । नयाँ सरकार गठनको तयारी तीव्र भइरहेका बेला सिंहदरबारभित्रका मन्त्रालयहरू सजावट र सरसफाइमा व्यस्त देखिएका छन्। वसन्त ऋतुको हरियालीसँगै ‘इनडोर प्लान्ट’ र फूलका गमलाले मन्त्रालय परिसरहरू झन् आकर्षक बनेका छन्।

मन्त्रालयका गेटदेखि कार्यकक्षसम्म हरियाली र सजावट बढाइएको छ भने कतिपय कर्मचारी नयाँ मन्त्रीको स्वागतका लागि कार्यकक्ष व्यवस्थापनमा खटिएका छन्। बगैँचामा फुलेका फूलसँगै थपिएको सजावटले सिंहदरबारको वातावरण अझ मनमोहक बनेको छ।

प्रतिनिधि सभा सदस्यहरूको शपथ चैत १२ गतेका लागि तय भएसँगै नयाँ सरकार गठन हुने तयारी भइरहेको छ। यससँगै मन्त्रालयहरूमा पनि नयाँ मन्त्रीको स्वागतका लागि आन्तरिक तयारी तीव्र पारिएको हो।गत जेनजी आन्दोलनका क्रममा क्षति पुगेका मन्त्रालयहरू समेत पुनः व्यवस्थित हुँदैछन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जलेका संरचनाहरू मर्मत गरी चिरिच्याट्ट बनाइएको छ। मन्त्रालयका सूचना अधिकारी मधुप्रसाद घिमिरेका अनुसार मन्त्रालयलाई नयाँ मन्त्रीको स्वागतका लागि पूर्ण रूपमा तयार बनाइएको छ।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय लगायतका निकायहरू पनि नयाँ मन्त्रीको प्रतीक्षामा छन्। मन्त्रालयका प्रवक्ता उदयबहादुर रानामगरले मन्त्री अभावमा नियमित काममा समेत प्रभाव परेको उल्लेख गर्दै नयाँ मन्त्री आएपछि कार्य सम्पादनले गति लिने विश्वास व्यक्त गरे।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पनि पेन्टिङ र सरसफाइ गरी कार्यालयलाई व्यवस्थित बनाइएको छ। मन्त्रालयका कर्मचारीहरूका अनुसार नयाँ सरकार आएपछि सेवाग्राहीको चहलपहल बढ्ने अपेक्षा गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भने जेनजी आन्दोलनपछि अझै पूर्ण रूपमा व्यवस्थित हुन सकेको छैन। हाल अस्थायी संरचनाबाट सञ्चालन भइरहेको मन्त्रालयले पनि नयाँ मन्त्रीको स्वागतका लागि तयारी गरेको जनाएको छ।

मन्त्रालयहरूमा नियमित प्रशासनिक काम जारी रहे पनि नीतिगत निर्णयका लागि मन्त्रीको आवश्यकता रहेको कर्मचारीहरूको भनाइ छ। नयाँ सरकार गठनसँगै सिंहदरबार फेरि चहलपहलले भरिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्