‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ’ नारासहित आज विश्व क्षयरोग दिवस मनाइँदै
काठमाडौँ, चैत १० । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ: राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मार्च २४ मा मनाइने यस दिवसको उद्देश्य क्षयरोग नियन्त्रणका लागि जनचेतना फैलाउनु हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय का अनुसार सन् २०३५ सम्म देशबाट क्षयरोग अन्त्य गर्ने तथा सन् २०५० सम्म क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्यसहित कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यस वर्षको नाराले राष्ट्रिय अभियान, साझा जिम्मेवारी र जनसहभागिताको महत्वलाई विशेष जोड दिएको मन्त्रालयले जनाएको छ।
नेपालमा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोग को पहिचान, निदान र नियन्त्रणका लागि देशभर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्। मन्त्रालयको अनुरोधमा स्थानीय तहहरूलाई समेत दिवस भव्य रूपमा मनाउन आग्रह गरिएको छ।
विश्व स्वास्थ्य सङ्गठन का अनुसार सन् २०२४ मा नेपालमा करिब ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। देशभरका ६ हजार २४१ स्वास्थ्य संस्थामा यसको उपचार उपलब्ध छ भने ७८५ स्थानमा माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा उपलब्ध रहेको छ।
मन्त्रालयका अनुसार औषधि प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा छन्। साथै, १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल’ अभियान विस्तार गरिएको छ।
चिकित्सकहरूका अनुसार तीन हप्ताभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, खकारमा रगत देखिनु, छाती भारी हुनु, तौल घट्नु, अत्यधिक पसिना आउनु तथा थकान महसुस हुनुजस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ।
कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका, धुमपान, मद्यपान वा लागुऔषध सेवन गर्ने व्यक्तिमा क्षयरोगको जोखिम बढी रहने बताइएको छ। साथै, औषधि नियमित रूपमा सेवन नगर्दा रोग पुनः देखा पर्न सक्ने भएकाले पूर्ण उपचार अत्यावश्यक रहेको स्वास्थ्य विज्ञहरूको सुझाव छ।
मन्त्रालयले उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै जनचेतना अभिवृद्धि, अन्तरक्रिया तथा कार्यक्रममार्फत क्षयरोग नियन्त्रणमा सबैको सहभागिता आवश्यक रहेकोमा जोड दिएको छ।

