सहकारी ठगी प्रकरणमा रविको जाहेरीकर्ता नै पक्राउ, ८२ लाख हिनामिनाको आरोप
पोखरा,चैत १० — पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध जाहेरी दिएका कृष्णप्रसाद जैसी नै अर्को सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन्।
कास्की प्रहरीले धनुष बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको आरोपमा जैसीलाई सोमबार पक्राउ गरेको जनाएको छ।वसहकारी रजिस्ट्रारको कार्यालयले गरेको अनुसन्धानमा उनले ८२ लाख रुपैयाँ हिनामिना गरेको पुष्टि भएपछि पक्राउ गरिएको हो।
अनुसन्धान प्रतिवेदनअनुसार जैसी ऋण उपसमितिमा बसेर कृत्रिम खातामार्फत उक्त रकम हिनामिनामा संलग्न रहेको उल्लेख छ। सोही प्रकरणमा अन्य चार जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ। उक्त सहकारीबाट कुल ११ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको पाइएको छ।
यसअघि जैसीसहितको जाहेरीका आधारमा ग्यालेक्सी टेलिभिजनका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक जीबी राईलगायतविरुद्ध एक अर्ब ५१ करोड रुपैयाँ हिनामिनाको आरोपमा मुद्दा दर्ता भइसकेको छ, जुन हाल अदालतमा विचाराधीन छ।
घटनाले सहकारी क्षेत्रमा बढ्दो अनियमितता र विश्वासको संकटलाई थप उजागर गरेको छ।

