मध्यपूर्वको हवाई प्रतिबन्धको असर : त्रिभुवनबाट ६ अन्तर्राष्ट्रिय उडान रद्द
काठमाडौँ,चैत १०— मध्यपूर्व क्षेत्रमा लागू गरिएको हवाई क्षेत्र प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार हुने छ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्।
विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान प्रभावित भएका हुन्।
“मध्यपूर्व क्षेत्रको हालैको हवाई प्रतिबन्धका कारण त्रिभुवन विमानस्थलबाट हुने छ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्,” महाप्रबन्धक सिटौलाले भन्नुभयो, “यात्रु व्यवस्थापन सहज बनाउन सम्बन्धित वायुसेवा कम्पनी तथा निकायहरूसँग समन्वय भइरहेको छ।”
विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी अद्यावधिक जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरेको छ।

