द्रुत बस सेवा बेवारिसे: सरकारी निगरानी हरायो, सेवा अस्तव्यस्त



काठमाडौँ, चैत १० — ठूलो उत्साहका साथ सुरु गरिएको द्रुत बस सेवा अहिले सरकारी निकायकै बेवास्तामा परेर अस्तव्यस्त बनेको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको अगुवाइमा अढाई वर्षअघि रत्नपार्कदेखि सूर्यविनायकसम्म सुरु गरिएको सेवा हाल प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन।

संविधान दिवसको अवसर पारेर २०८० असोज ३ गते तत्कालीन मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा शुभारम्भ गर्नुभएको थियो।एम्बुलेन्ससरह सुविधा, छुट्टै लेन र ट्राफिक बत्तीमा नरोकिने व्यवस्थासहित सुरु गरिएको सेवा सार्वजनिक यातायात सुधारको नमुना मानिएको थियो।

तर अहिले अवस्था उल्टिएको छ। व्यवसायीहरूका अनुसार डेडिकेटेड लेन प्रयोग गर्न नपाइने, ट्राफिक सहजीकरण कमजोर हुने र सडक पूर्वाधार अभावका कारण सेवा प्रभावकारी बन्न सकेको छैन। सरोज सिटौलाका अनुसार मन्त्री परिवर्तनसँगै सरकारी चासो पनि हराएको छ।

यातायात व्यवसायी निरोज बादेका अनुसार सुरुमा निश्चित तालिका, यात्रुको चापअनुसार व्यवस्थापन र नियमित निगरानी भए पनि अहिले कुनै निश्चित समय तालिका छैन। “पहिला तीन–तीन मिनेटमा बस छुट्थे, अहिले मन लागे चल्छ, नलागे चल्दैन,” उनले गुनासो गरे। द्रुत बस सेवामा यात्रुको सहजताका लागि मोबाइल एपमार्फत समय, सिट र भाडा जानकारी दिने योजना बनाइएको थियो तर त्यो कार्यान्वयन हुन सकेन।

यस विषयमा यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमानसिंह राईले विभागबाट हाल कुनै सक्रिय निगरानी नभएको स्वीकार गरे। मन्त्रालयका अधिकारीहरू पनि सेवाको वर्तमान अवस्थाबारे अनभिज्ञ रहेको बताएका छन्। यद्यपि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले द्रुत बस सञ्चालनमा सहजीकरण गरिरहेको जनाएको छ।

सुरुमा ३६ वटा बस सञ्चालनमा ल्याइ १९ स्थानमा बस स्टप निर्धारण गरिएको थियो। रत्नपार्क, माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायकसम्मको व्यस्त मार्गमा सेवा सञ्चालन भए पनि अहिले यसको प्रभावकारिता घट्दै गएको छ।

सार्वजनिक यातायात सुधारका लागि सुरु गरिएको यो महत्त्वाकांक्षी योजना अहिले निगरानी र समन्वय अभावमा अलपत्र परेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्