अमेरिका–इजरायलले इरानमाथिको सैन्य कारबाही रोके, वार्ताबाट समाधान खोजिने संकेत



काठमाडौँ,चैत १०— मध्यपूर्वमा जारी तनावका बीच संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथिको सैन्य कारबाही अस्थायी रूपमा रोकेका छन्। युद्ध सुरु भएको २४ औँ दिनमा यो निर्णय गरिएको हो।

युद्धका कारण जनधनमा ठूलो क्षति हुनुका साथै यसको असर विश्वव्यापी रूपमा देखिन थालेपछि सैन्य कारबाही रोकिएको जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग भएको “फलदायी वार्ता” पछि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न निर्देशन दिएको बताएका छन्।

राष्ट्रपति ट्रम्पका अनुसार कूटनीतिक प्रयासलाई प्राथमिकता दिँदै पाँच दिनका लागि सबै सैन्य आक्रमण स्थगित गरिएको हो। “दुई देशबीच भएको सकारात्मक संवादलाई ध्यानमा राख्दै युद्ध विभागलाई आक्रमण रोक्न निर्देशन दिएको छु,” उनले बताएका छन्। उनले वार्ता यसै साताभरि जारी रहने पनि स्पष्ट पारे।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो कदमले मध्यपूर्वमा बढ्दो तनाव केही हदसम्म कम हुने अपेक्षा गरिएको छ। युद्धका कारण विश्व अर्थतन्त्रमा समेत दबाब बढेपछि अमेरिका र इजरायलमाथि कूटनीतिक समाधान खोज्न आन्तरिक तथा बाह्य दबाब बढिरहेको थियो।

यसअघि इरानका ऊर्जा केन्द्रहरू लक्षित गरी सम्भावित आक्रमणको तयारी भइरहेका बेला उक्त योजना स्थगित गरिनु ठूलो राहतका रूपमा हेरिएको छ। दुवै पक्षबीच संवादको ढोका खुला राख्दै द्वन्द्व अन्त्यतर्फ पहल भइरहेको संकेत गरिएको छ।

मध्यपूर्वमा केही समययता जारी सैन्य तनावबीच यो निर्णयलाई सम्भावित शान्ति प्रक्रियाको सुरुवातका रूपमा समेत विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्