चैते दशैंको बेला नुवाकोटमा खसी चोरी, किसान चिन्तित
नुवाकोट,चैत १० — चैते दशैंको बेला नुवाकोटमा खसी चोरी भएको घटना सार्वजनिक भएको छ।
शिवपुरी गाउँपालिका–८स्थित जनज्ञान निकेतन माध्यमिक विद्यालय नजिकै स्थानीय कृष्णबहादुर श्रेष्ठको खोरबाट खसी चोरी भएको हो।
पीडित श्रेष्ठका अनुसार गएराति खोरमा बाँधिएको खसी अज्ञात व्यक्तिले चोरी गरेका हुन्। स्थानीय सचिन श्रेष्ठले बेलुकी खोरमा ताला लगाएर सुतिएको र बिहान हेर्दा ताला फुटेको अवस्थामा भेटिएको बताए। “भित्र हेर्दा खसी नै हराएको रहेछ,” उनले भने।
पछिल्लो समय पशुचौपाया घर गोठबाटै चोरी हुन थालेपछि स्थानीय पशुपालक किसानहरू चिन्तित बनेका छन्। चोरीमा संलग्न व्यक्तिको खोजी गरी कार्वाहीको दायरामा ल्याउन स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्।

