बर्डफ्लु पुष्टि भएपछि संकटग्रस्त क्षेत्र घोषणा



झापा,चैत १० — दमक नगरपालिका–१०स्थित दमक एग्रिकल्चर फार्ममा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झापाले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रशाईका अनुसार संक्रमण फैलिन नदिन फार्म आसपास २० मिटर क्षेत्रलाई प्रतिबन्धित बनाइएको छ। सो क्षेत्रमा विज्ञ पशु प्राविधिकबाहेक अन्य व्यक्तिको आवतजावतमा रोक लगाइएको छ।

संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा तथा अन्य पन्छीजन्य सामग्रीको ओसारपसार पूर्ण रूपमा बन्द गरिएको छ । फार्ममा रहेका करिब २० हजार कुखुरा र नजिकैको अर्को फार्मका थप ५ हजार गरी करिब २५ हजार कुखुरा नष्ट गर्ने कार्य सुरु गरिएको छ।

फार्म सञ्चालक देवेन्द्र प्रसाईका अनुसार कुखुरा अस्वाभाविक रूपमा मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो। द्रुत प्रतिक्रिया टोली परिचालन गरी कुखुरा, अण्डा र दाना सुरक्षित रूपमा नष्ट गर्ने काम भइरहेको छ। भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र झापाकी प्रमुख सितल भट्टराईका अनुसार तीन वटा टोली यस कार्यमा खटिएका छन्।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले सरोकारवाला निकायसँग समन्वय गर्दै संक्रमण नियन्त्रणको काम तीव्र पारिएको जानकारी दिनुभयो र सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गर्नुभयो।

यस घटनापछि स्थानीय बजारमा कुखुरा र अण्डाको व्यापार प्रभावित भएको छ। उपभोक्तामा त्रास फैलिएपछि बिक्री घटेको व्यवसायीहरूको भनाइ छ। यद्यपि, कुखुराजन्य परिकार राम्रोसँग पकाएर खाँदा मानिसमा संक्रमणको जोखिम न्यून हुने विज्ञहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्