जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु
डोटी,चैत १०— आदर्श गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सोमबार राति खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा आदर्श गाउँपालिका–३ का २२ वर्षीय चालक सुबोध रोकाया र सोही स्थानका कैलाश विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सु.प.प्र.०१–००१ च ३९२३ नम्बरको जिप मौवा गिरिचौका भित्रि कच्ची सडकअन्तर्गत रौसेल्ला खोला नजिक घुम्तीमा अनियन्त्रित भई सडकबाट तल खसेको बताइएको छ।
प्रहरी टोलीले खोजतलास गर्दा दुवै जनाको शव साइलीगाड खोलामा करिब ९ सय मिटर तल फेला परेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

