रास्वपालाई कांग्रेसको साथ : सुशासन र विकासमा गति बढाउन थापाको आग्रह
काठमाडौँ,चैत १०— नेपाली कांग्रेसका सभापति गगन थापाले सुशासन, विकास र सेवाप्रवाहका काममा राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो पार्टीको पूर्ण साथ रहने बताएका छन्।
पार्टी केन्द्रीय समिति बैठकलाई सानेपास्थित कार्यालयमा मंगलबार सम्बोधन गर्दै थापाले नेपालमा सुशासन र विकासको गति पहिलेको भन्दा चार गुणा बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले प्रतिपक्षमा रहे पनि सरकारलाई आवश्यक सहयोग गर्ने स्पष्ट पारे।
“अब सुशासन, विकास र सेवाप्रवाह तीव्र गतिमा अघि बढ्नुपर्छ, तर दुर्घटनामा पर्नु हुँदैन,” उनले भने, “रास्वपाले पाँच वर्षका लागि ड्राइभिङ सिट पाएको छ, त्यसमा हाम्रो साथ रहनेछ। गति बढाउने ठाउँमा दबाब र अप्ठेरोमा प्रोत्साहन हुनेछ।”
थापाले २०४६ देखि २०८२ सम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने मागसमेत राखे। स्रोत नखुलेको सम्पत्ति जफत गर्नुपर्ने भन्दै उनले यस विषयमा पनि आगामी सरकारलाई कांग्रेसको पूर्ण समर्थन रहने बताए।

