प्रधानमन्त्री कप क्रिकेट : पुलिस र बागमतीको शानदार जित, कीर्तिमानी स्कोर
काठमाडौँ, चैत १० — प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब र बागमती प्रदेशले प्रभावशाली जित हात पारेका छन्।
मुलपानी मैदानमा मंगलबार भएको खेलमा पुलिसले नेपाल एपीएफ क्लबलाई १८५ रनले हराउँदै शानदार प्रदर्शन गर्यो। पुलिसले निर्धारित ५० ओभरमा ३५५ रनको कीर्तिमानी योगफल बनायो, जुन प्रतियोगिताकै उच्च स्कोर हो।
३५६ रनको लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १७० रनमै समेटियो। एपीएफका नन्दन यादवले अविजित ४४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। पुलिसका ललित राजवंशीले तीन विकेट लिए।
यसअघि ब्याटिङतर्फ पुलिसका शंकर राना (६१), दिनेश खरेल (६०), आरिफ शेख (५०) र दिलसाद अली (अविजित ५१) ले उत्कृष्ट योगदान दिए।
अर्को खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १७० रनले पराजित गर्यो। २९५ रनको लक्ष्य पछ्याएको गण्डकी १२४ रनमै समेटियो।बागमतीका लागि इशान पाण्डेले ७१ रन बनाउँदा आशुतोष घिरैयाले ५९ रन जोडे। बलिङतर्फ रिजन ढकालले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई विकेट झारे।
प्रतियोगितामा तीन विभागीय टोलीसहित सातै प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ। विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

