विदुरमा खानेपानी सुधारको नयाँ आशा : फलाखु–तादी मुहानबाट ट्याङ्कीसम्म पानी परीक्षण सफल



नुवाकोट, चैत १० — खानेपानी अभावले वर्षौंदेखि हैरानी खेप्दै आएका विदुर नगरपालिकाका बासिन्दाका लागि राहतको संकेत देखिएको छ। नगरपालिकाले वैकल्पिक स्रोतमार्फत पानी आपूर्ति गर्ने उद्देश्यले सुरु गरेको योजना अन्तर्गत पानी परीक्षण सफलतापूर्वक सम्पन्न भएको हो ।

नगरप्रमुख राजन श्रेष्ठको पहलमा फलाखु खोलाको मुहान र वडा नं. २ स्थित तादी खोलामा निर्माण गरिएको समवेलबाट पानी उठाएर रातोडाँडामाथि निर्माण गरिएको ट्याङ्कीसम्म पुर्‍याउने कार्य परीक्षण गरिएको थियो। उक्त परीक्षण सफल भएसँगै अब नगरबासीलाई सहज रूपमा खानेपानी उपलब्ध गराउने अपेक्षा गरिएको छ।

यस योजनाले विशेष गरी पानी अभाव झेलिरहेका बस्तीहरूलाई वैकल्पिक स्रोत उपलब्ध गराउने लक्ष्य राखेको छ। नगरप्रमुख श्रेष्ठले खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक सहयोग र निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा नगरउपप्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, वडा नं. २ का अध्यक्ष दीपक कायस्था, विदुर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष सञ्जिव श्रेष्ठलगायत जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

स्थानीयले लामो समयदेखि भोग्दै आएको खानेपानी समस्या समाधानतर्फ यो कदम महत्वपूर्ण मानिएको छ। योजना पूर्ण रूपमा सञ्चालनमा आएपछि विदुरका बासिन्दाले नियमित र सहज रूपमा खानेपानी पाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्