कांग्रेसको १५औँ महाधिवेशन तालिका सार्वजनिक, भदौ २४–२६ मा काठमाडौंमा हुने



काठमाडौँ,चैत १०— नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ।

पार्टी सभापति गगनकुमार थापाका अनुसार २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौँमा महाधिवेशन आयोजना गर्ने लक्ष्य राखिएको छ।

कार्यतालिका अनुसार साउन ६ गते देशभरका ६ हजार ७४३ वटै वडामा एकैसाथ अधिवेशन हुनेछ। त्यसपछि साउन १२ गते गाउँ तथा नगर अधिवेशन, साउन २३ गते प्रदेश सभा क्षेत्रीय र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन आयोजना गरिनेछ।

त्यसैगरी, जिल्ला अधिवेशन भदौ ६ र ७ गते तथा प्रदेश अधिवेशन भदौ १५ र १६ गतेका लागि तय गरिएको छ।

प्रस्तावित कार्यतालिका आगामी केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन भएपछि मात्रै कार्यान्वयनमा आउने सभापति थापाले स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्