जनकपुरमा चैती छठ : अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण
जनकपुर,चैत १०— चैती छठको तेस्रो दिन मंगलबार जनकपुरधाममा श्रद्धालुहरूले अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरेका छन्।
प्रत्येक वर्ष चैत शुक्ल षष्ठीका दिन जलाशय किनारमा सूर्यदेव र षष्ठी देवीको पूजा गर्दै यो पर्व मनाउने परम्परा रहेको छ। भक्तजनहरू नदी, पोखरी तथा तलाउ किनारमा भेला भई विधिपूर्वक पूजा–आराधना गर्छन्।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य दिने विशेष महत्व रहेको छ। कार्तिक शुक्ल षष्ठी र सप्तमीमा मनाइने छठलाई मुख्य पर्वका रूपमा लिइन्छ भने चैत महिनामा मनाइने चैती छठलाई पनि उत्तिकै श्रद्धा र आस्थाका साथ मनाउने गरिन्छ।

