शिवपुरीमा परीक्षा अनुगमन : स्वच्छ र मर्यादित मूल्यांकनतर्फ स्थानीय सरकारको सक्रियता
नुवाकोट,चैत ११ — वार्षिक परीक्षा सुरु भएसँगै शिवपुरी गाउँपालिकाले विद्यालयस्तरको परीक्षा व्यवस्थापनलाई स्वच्छ र मर्यादित बनाउन अनुगमनलाई तीव्रता दिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल र शिक्षा शाखा प्रमुख पुष्कर बिस्टसहितको टोलीले कक्षा ८ को पालिकास्तरीय परीक्षा सञ्चालन भइरहेको स्याउरी भूमे माध्यमिक विद्यालय र भूमेदेवी माध्यमिक विद्यालयमा पुगेर प्रत्यक्ष अनुगमन गरेको हो। सोही क्रममा अन्य कक्षाका परीक्षा सञ्चालन अवस्थाको पनि अवलोकन गरिएको थियो।
गाउँपालिकामा चैत ८ गतेदेखि सुरु भएको वार्षिक परीक्षा चैत १७ गतेसम्म सञ्चालन हुने जनाएको छ। अनुगमन टोलीले परीक्षा निष्पक्ष, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन भइरहेको छ वा छैन भन्ने विषयमा विशेष ध्यान दिएको छ।
यस वर्ष कक्षा ८ का लागि पालिकास्तरीय परीक्षा भए पनि अङ्ग्रेजी, गणित र विज्ञान विषयका प्रश्नपत्र भने राष्ट्रिय परीक्षा बोर्डबाट ल्याइएको शिवपुरीस्थित कुम्भेश्वर माविका शिक्षक प्रल्हाद सिटौलाले जानकारी दिनुभयो। यसले परीक्षा प्रणालीलाई थप विश्वसनीय र स्तरिय बनाउने अपेक्षा गरिएको छ।
उता लिखु गाउँपालिकामा पनि चैत ८ गतेदेखि नै परीक्षा संचालन भैरहेको छ । लिखुले कक्षा ५ र ८ को परीक्षालाई भने पालिकास्तरीय परीक्षा निर्धारण गरेको छ त्यसै भने पञ्चकन्या गाउँपालिकामा चैत ९ गतेदेखि वार्षिक परीक्षा सुरु गरिएको छ।
स्थानीय तहहरूले संयुक्त रूपमा परीक्षा व्यवस्थापनमा चासो देखाउन थालेसँगै शिक्षा क्षेत्रमा सुधारको संकेत देखिएको छ। अनुगमनले परीक्षा प्रणालीलाई पारदर्शी र विश्वसनीय बनाउँदै विद्यार्थी, अभिभावक र विद्यालयबीच विश्वास बढाउने अपेक्षा गरिएको छ।

