पञ्चकन्यामा ‘रोजगार संवाद मञ्च’ : रोजगारी प्रवर्द्धनमा सहकार्यको आवश्यकता औंल्याइयो



नुवाकोट,चैत ११— पञ्चकन्या गाउँपालिकास्थित रोजगार सेवा केन्द्रद्वारा आयोजित “रोजगार संवाद मञ्च” सम्बन्धी एकदिने गोष्ठी सम्पन्न भएको छ।

कार्यक्रममा गैरसरकारी संस्थाको तर्फबाट मन्तव्य राख्दै रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले स्थानीय तहमा रोजगार प्रवर्द्धन, सीप विकास तथा स्वरोजगार सिर्जनामा गैरसरकारी संस्थाहरूको महत्वपूर्ण भूमिका रहने बताएका छन्।

उनले सरकारी निकाय र गैरसरकारी संस्थाबीचको सहकार्य, समन्वय तथा साझेदारीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै लक्षित वर्गसम्म रोजगारीका अवसर पुर्‍याउन संयुक्त प्रयास अपरिहार्य रहेको बताए।

केसीले युवा वर्गको क्षमता अभिवृद्धि, वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। साथै, स्थानीय स्रोत–साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै दिगो रोजगार सिर्जना गर्न सबै सरोकारवाला निकायहरू एकीकृत रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले रोजगारीका अवसर विस्तार, सीपमूलक तालिम तथा स्थानीय स्तरमै रोजगारी सिर्जनाका उपायहरूबारे छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्