समानुपातिक मतका आधारमा सदस्यता विस्तार गर्नुपर्छ : नेता केसी
नुवाकोट,चैत ११ — नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर २ का प्रत्यासी उम्मेदवार जगदीशनरसिंह केसीले संगठन सुदृढीकरणका लागि नयाँ अवधारणा अघि सारेका छन्।
उनले भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले प्राप्त गरेको समानुपातिक मतलाई आधार मानेर प्रत्येक वडामा १० प्रतिशतका दरले क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्था लागू गर्नुपर्ने बताएका छन्।
केसीका अनुसार यस्तो प्रावधान लागू भएमा संगठन विस्तार व्यवस्थित, पारदर्शी र परिणाममुखी बन्नेछ। “समानुपातिक मतकै आधारमा सदस्यता वितरण गरिए संगठनलाई तल्लो तहसम्म बलियो बनाउन सकिन्छ,” उनले भने।
उनले पार्टीभित्र सदस्यता वितरणलाई वैज्ञानिक र तथ्यमा आधारित बनाउँदै कार्यकर्ताको सक्रियता बढाउन यस किसिमको व्यवस्था प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

