देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना



काठमाडौँ,चैत ११ — देशभर हाल पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लागेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ।

बुधबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।

महाशाखाले कोशी र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको जनाएको छ।

आज राति पनि सुदूरपश्चिमसहित पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने र तराईका भू–भागमा मौसम आंशिकदेखि सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ। सम्भावित वर्षा, चट्याङ र हिमपातबाट हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्