सांसद शपथग्रहण र संसद् बैठकका लागि तयारी पूरा
काठमाडौँ,चैत ११ — प्रतिनिधि सभा सदस्यहरूको शपथग्रहण तथा संसद् बैठक सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित संसद् भवनभित्र बैठकका लागि आवश्यक संरचना निर्माण कार्य सम्पन्न भइसकेको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि प्रत्यक्ष र समानुपातिक दुवैतर्फको नतिजा सार्वजनिक भइसकेको छ भने निर्वाचन आयोगले निर्वाचित सदस्यलाई प्रमाणपत्रसमेत वितरण गरिसकेको छ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका रूपमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित अर्जुननरसिंह केसीले बुधबार रामचन्द्र पौडेलसमक्ष शपथग्रहण गर्नुहुनेछ। त्यसपछि बिहीबार अन्य २७४ जना सांसदलाई केसीले नै शपथग्रहण गराउने कार्यक्रम तय गरिएको छ।
ज्येष्ठ सदस्यको शपथ शीतल निवासमा हुनेछ भने अन्य सदस्यको शपथ संसद् भवनमै गराइनेछ। मुख्य बैठक हल निर्माणाधीन रहेकाले प्रारम्भिक बैठकका लागि सोही भवनभित्र रहेको बहुउद्देश्यीय हल प्रयोग गरिने सचिवालयले जनाएको छ।
सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार शपथग्रहण र प्रारम्भिक बैठकका लागि वैकल्पिक व्यवस्था मिलाइएको छ। मुख्य हल तयार हुन केही समय लाग्ने भएकाले तत्कालका लागि वैकल्पिक हल प्रयोग गरिने बताइएको छ।

