ग्यास आयात बढ्दा पनि बजारमा अभाव, सञ्चय प्रवृत्तिले समस्या बढायो
काठमाडौँ, चैत ११ — खाना पकाउने एलपी ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघसम्म तीन लाख २१ हजार ८९ मेट्रिक टन ग्यास आयात भएकोमा फागुनमा मात्रै तीन लाख ७२ हजार २८१ मेट्रिक टन पुगेको छ।
तथ्याङ्क अनुसार माघको तुलनामा फागुनमा ५१ हजार मेट्रिक टनभन्दा बढी ग्यास आयात भएको छ, जसबाट करिब ३६ लाख ५० हजार सिलिन्डर भर्न सकिन्छ। तर आयात वृद्धि हुँदाहुँदै पनि बजारमा उपभोक्ताले ग्यास अभाव झेलिरहेका छन्।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार अभावको आशङ्कामा घरघरमा ग्यास सञ्चय गर्न थालेपछि माग अस्वाभाविक रूपमा बढेको हो। उनले आधा सिलिन्डर बिक्रीको व्यवस्था लागू गरिएपछि आपूर्ति केही सहज बन्दै गएको बताए। देशभर करिब एक करोड ४२ लाख सिलिन्डर प्रयोगमा रहे पनि धेरै घरमा आवश्यकताभन्दा बढी सिलिन्डर भरेर राख्ने प्रवृत्तिले समस्या झन् जटिल बनेको जनाइएको छ।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले ग्यास आयात नियमित भइरहेकाले अनावश्यक सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेका छन्। उनका अनुसार सामान्य अवस्थामा मासिक ४५ देखि ४९ हजार मेट्रिक टन ग्यासको माग हुने गरेको छ।
पश्चिम एसियाली द्वन्द्वका कारण सम्भावित अभावको त्रासले माग बढे पनि निगमले २८ फागुनदेखि आधा सिलिन्डर बिक्री सुरु गरेको छ। यद्यपि साना होटल, रेस्टुरेन्ट र होस्टेलमा भने अझै अभाव कायम रहेको छ।
यसैबीच, भारतबाट आउने ग्यासको मूल्य बढेर प्रतिसिलिन्डर २१६ रुपैयाँले महँगो भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै हाल बजार मूल्य स्थिर राखिएको निगमले जनाएको छ। हाल ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर एक हजार ९१० रुपैयाँ कायम छ।

