निर्माणाधीन मोटरेबल पुल भाँचियो, करोडौँ क्षति
ताप्लेजुङ,चैत ११— मैवाखोला गाउँपालिकास्थित नेरुवा खोलामा निर्माणाधीन मोटरेबल पुल बाढीले भाँचिएको छ। मङ्गलबार साँझ परेको वर्षापछि खोलामा आएको बाढीले पुलको संरचना क्षतिग्रस्त बनाएको हो।
मैवाखोला गाउँपालिका–५ र ६ फाकुम्बा जोड्ने गरी खार्ते क्षेत्रमा निर्माण भइरहेको उक्त पुल पूर्वाधार विकास कार्यालय ताप्लेजुङमार्फत निर्माण हुँदै आएको थियो। निर्माण अन्तिम चरणमा पुगेकै बेला बाढीले पुलको टेका (स्काफोल्डर) भत्काएपछि संरचना भाँचिएको कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर कुमार कुसलय कर्णले जानकारी दिनुभयो।
कार्यालयका अनुसार करिब नौ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको पुल भत्किँदा ठूलो आर्थिक क्षति भएको छ। सञ्जिव निर्माण सेवा, फिदिम पाँचथरले चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम गरिरहेको थियो।
पुल भाँचिएसँगै स्थानीयवासीको वर्षौंदेखिको यातायात सुविधा प्राप्त गर्ने अपेक्षा पुनः अधुरो बनेको छ। गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार विशेषगरी फाकुम्बा क्षेत्रका नागरिक बर्खायाममा यातायात सेवाबाट वञ्चित हुने गरेका छन्।
हिउँदमा पानी घट्दा वैकल्पिक रूपमा सवारी सञ्चालन हुने भए पनि वर्षायाममा पुल अभावका कारण सो क्षेत्रका नागरिक र यात्रुले सास्ती भोग्दै आएका छन्।

