विदुरमा तरकारी संकलन केन्द्र निर्माण सुरु, नगरप्रमुखद्वारा शिलान्यास
नुवाकोट, चैत ११ — विदुर नगरपालिका वडा नं. ५ स्थित वडा कार्यालय परिसरमा निर्माण हुन लागेको तरकारी संकलन केन्द्रको शिलान्यास गरिएको छ। नगरप्रमुख राजन श्रेष्ठले उक्त केन्द्रको शिलान्यास गर्नुभएको हो।
शिलान्यास कार्यक्रममा उपप्रमुख प्रभा बोगटी, वडा नं. ५ का अध्यक्ष लिलानाथ न्यौपाने, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण सुरु गरिएको उक्त केन्द्रमा दुई वटा भवन, पानी तथा शौचालयसहितको सुविधा रहनेछ। करिब १ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण हुने यो योजना आगामी जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
नगरपालिकाले सोही आयोजना मार्फत करिब १६ करोड रुपैयाँ बराबरका विभिन्न पूर्वाधार योजनाहरू सञ्चालन गरिरहेको छ। वडा कार्यालय भवन, सडक र शौचालय निर्माणलगायतका विकास योजनाहरू कार्यान्वयनमा ल्याइएको जनाइएको छ।

