विदुरमा सर्वेश्वर महादेव मन्दिर पूर्वाधार निर्माणको अवलोकन, समयमै सम्पन्न गर्न निर्देशन
नुवाकोट, चैत ११ — विदुर नगरपालिका वडा नं. ५ स्थित सर्वेश्वर महादेव मन्दिर परिसरमा भइरहेको पूर्वाधार निर्माण कार्यको नगरप्रमुख राजन श्रेष्ठले स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ।
अवलोकनका क्रममा नगरप्रमुख श्रेष्ठले निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न आवश्यक निर्देशन दिनुभएको थियो। कार्यक्रममा उपप्रमुख प्रभा बोगटी, वडा अध्यक्ष लिलानाथ न्यौपाने तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।
पर्यटन विकास आयोजनाको इकाई कार्यालयसँगको सहकार्यमा करिब १० लाख रुपैयाँ लागतमा मन्दिर संरक्षण तथा आवश्यक पूर्वाधार निर्माण कार्य भइरहेको छ। उक्त योजना चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित उपभोक्ता समितिलाई जिम्मेवारी दिइएको छ।
स्थानीय धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मन्दिर परिसरमा आवश्यक संरचना निर्माण कार्य अगाडि बढाइएको जनाइएको छ।

