नुवाकोटमा पहिरो अपडेट: थप एक जनाको मृत्यु, मृतक संख्या २ पुग्यो



नुवाकोट, चैत ११ — शिवपुरी गाउँपालिका–३ लक्ष्मेश्वरी क्षेत्रमा पहिरो जाँदा स्काभेटर (डोजर) पुरिँदा दुई जनाको ज्यान गएको छ।

स्थानीयका अनुसार पहरा फुटाउने क्रममा अचानक आएको पहिरोले स्काभेटर पुरिँदा चालक २४ वर्षीय अमृत तामाङ र स्थानीय उपभोक्ता समितिका सदस्य फुलमान तामाङको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पहिरो एक्कासी खसेर स्काभेटर पूर्ण रूपमा पुरिएको थियो। चालक तामाङको शव क्षतविक्षत अवस्थामा फेला परेको छ भने अर्का मृतकको शव निकाल्ने प्रयास भइरहेको जनाइएको छ। घटनामा स्काभेटरसमेत टुक्राटुक्रा भएको छ।

घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सक्रिय सहभागितामा उद्धार कार्य जारी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

पहिरोको जोखिम उच्च रहेको क्षेत्र भएकाले स्थानीयवासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्