जेनजी आन्दोलनबारे आयोगको प्रतिवेदन सार्वजनिक, उच्च अधिकारीमाथि कारबाही सिफारिस



काठमाडौँ,चैत ११ — गत भदौ २३ र २४ गते भएको जेनजी (नवयुवा) आन्दोलनका क्रममा भएको क्षति तथा सुरक्षा कमजोरीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले उच्च राजनीतिक तथा सुरक्षा अधिकारीमाथि कारबाही सिफारिस गरेको छ।

आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई ‘फौजदारी लापरवाही’ गरेको ठहर गर्दै जिम्मेवारीबाट पन्छिएको आरोप लगाइएको छ। चार घण्टासम्म गोली चल्दा पनि स्थिति नियन्त्रणमा प्रभावकारी पहल नगरेको र मानवअधिकारको गम्भीर उल्लंघन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई समेत घटनाको मुख्य जिम्मेवार ठहर गर्दै मुलुकी अपराध संहिताअनुसार कारबाही गर्न सिफारिस गरिएको छ।

प्रतिवेदनमा गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविराज रिजालसहित विभिन्न प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरूलाई पनि जिम्मेवार ठहर गरिएको छ।

त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका विभिन्न उच्च तहका अधिकारीहरूलाई समेत घटनामा कमजोरी देखिएको भन्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको छ।

आयोगले भीडलाई उक्साउने तथा शान्ति भङ्ग गर्ने गतिविधिमा संलग्न समूहको समेत पहिचान गरी कारबाही गर्न सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्