राखेपद्वारा एन्फा कार्यसमिति तीन महिनाका लागि निलम्बन
काठमाडौँ,चैत ११ — राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमितिलाई तीन महिनाका लागि निलम्बन गरेको छ।
राखेपले खेलकुद विकास नियमावली २०७७ को दफा २९ (२) अनुसार एन्फाले पटक–पटक दिइएको निर्देशन अवज्ञा गरेको भन्दै निलम्बनको निर्णय गरिएको जनाएको छ। यसअघि राखेपले एन्फालाई ‘अर्ली इलेक्सन’ नगर्न निर्देशन दिएको थियो।
यस्तै, मङ्गलबार राखेपले स्वीकृतिबिना चैत १३ गते गर्न लागिएको एन्फाको निर्वाचन रोक्न पुनः २४ घण्टाभित्र कारणसहित स्पष्टीकरण माग गरेको थियो। तर एन्फाले भने निर्वाचन विधिसम्मत रूपमा हुने अडान लिएको थियो।
एन्फाले विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी)को नियमावलीअनुसार निर्वाचन गर्न लागिएको जनाएको छ।
राखेपको निलम्बन निर्णयका बाबजुद एन्फाले चैत १३ गते झापामा निर्वाचन गर्ने तयारी कायम राखेको छ।

