पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल–डिजेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि



काठमाडौँ,चैत ११ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो।

निगमका अनुसार विगत एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ। सोही कारण आगामी १५ दिन (मार्च १६ देखि ३१ सम्म) मा करिब ५ अर्ब रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ भने मूल्यवृद्धिको वर्तमान प्रवृत्ति कायम रहे थप १५ अर्ब रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

नयाँ मूल्यअनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा कायम भएको छ। दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा १८६ रुपैयाँ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा १८७ रुपैयाँ निर्धारण गरिएको छ।

निगमले विषम परिस्थितिमा उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ। साथै अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नेबित्तिकै स्वदेशमा पनि मूल्य समायोजन गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्