पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि, काठमाडौँमा पेट्रोल १८७ रुपैयाँ



काठमाडौँ,चैत १२ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। पछिल्लो पटक मूल्य समायोजन गरेको ११ दिन नबित्दै निगमले गए मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको हो।

नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ कायम गरिएको छ। त्यस्तै डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ तोकिएको छ। यससँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पुगेको छ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई समेटेको जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले स्वदेशी बजारमा पनि मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ। निगमका अनुसार मार्च १ देखि २४ तारिखसम्म खरिद मूल्यमा पेट्रोलमा प्रतिलिटर ७६ रुपैयाँ र डिजेलमा १४३ रुपैयाँसम्म वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्