प्रधानमन्त्री कार्कीद्वारा तीन महत्वपूर्ण प्रतिवेदन सार्वजनिक गर्ने निर्णय
काठमाडौँ,चैत १२ — प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गर्नुभएको छ।
प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन तथा बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गर्नुभएको हो। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको ‘सुशासन मार्गचित्र, २०८२’ पनि सार्वजनिक गरिने भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार भदौ २३ र २४ को घटनासम्बन्धी प्रतिवेदन संघीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गरिनेछ।
यसअघि नेपाल बाल संगठन र बालमन्दिरसम्बन्धी प्रतिवेदन पनि सोही प्रक्रियाबाट सार्वजनिक गर्ने निर्णय भइसकेको छ। त्यस्तै, गत चैत ३ गते तयार गरिएको ‘सुशासन मार्गचित्र, २०८२’ कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ।
सरकारले पारदर्शिता र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले यी प्रतिवेदनहरू सार्वजनिक गर्न लागेको जनाएको छ।

