कामपा वडा २७ र वीर अस्पतालको सहकार्यमा निःशुल्क कलेजो जाँच कार्यक्रम सञ्चालन हुने
काठमाडौँ, चैत १२ — काठमाडौँ महानगरपालिका–२७ ले वीर अस्पतालसँगको सहकार्यमा वडावासीका लागि निःशुल्क कलेजो जाँच कार्यक्रम सञ्चालन गर्ने भएको छ।
कार्यक्रम सञ्चालनका लागि कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको रोहवरमा वडाध्यक्ष योगेशकुमार खड्गी र अस्पतालका कार्यकारी निर्देशक प्राडा दिलीप शर्माबीच सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार कलेजो परीक्षणसँगै प्रारम्भिक उपचारसमेत उपलब्ध गराइनेछ।
कार्यवाहक प्रमुख डङ्गोलले सहरवासीमा नसर्ने रोगको जोखिम बढ्दै गएको अवस्थामा यस्तो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।वडाध्यक्ष खड्गीका अनुसार धूमपान, मद्यपान तथा अस्वस्थ जीवनशैलीका कारण कलेजोसम्बन्धी समस्या बढ्दै गएकाले जनचेतना र परीक्षणका लागि कार्यक्रम अघि बढाइएको हो।
अस्पतालका कार्यकारी निर्देशक शर्माले कलेजोसम्बन्धी समस्या सुरुमै पहिचान गर्न सके ठूलो जनस्वास्थ्य संकट टार्न सकिने बताउनुभयो।जाँचका लागि वडावासीले स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट रिफर हुनुपर्नेछ।
रिफर भएका व्यक्तिको अस्पतालमा कम्प्लिट ब्लड काउन्ट (CBC), लिभर फङ्सन टेस्ट (LFT), फास्टिङ ब्लड सुगर (FBS), गामा जीटी, लिपिड प्रोफाइल, क्रियाटिनिन, हेपाटाइटिस बी, एचआइभी, एन्टी–एचसिभी तथा यूएसजी लगायत परीक्षण गरिनेछ।
कार्यक्रमले कलेजो रोगको प्रारम्भिक पहिचान, रोकथाम तथा उपचारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

