रसुवामा कन्टेनर दुर्घटना, एकको मृत्यु एक घाइते
रसुवा,चैत १२— जिल्लाको कालिका गाउँपालिका–१ ग्राङजुङ डाँडास्थित पासाङल्हामु मार्गमा बुधबार साँझ कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
चिनियाँ सामग्री लिनका लागि केरुङतर्फ जाँदै गरेको ना६ख ५४९८ नम्बरको कन्टेनर दक्षिणी रसुवाको कालिकास्थानबाट धुन्चेतर्फ जाने क्रममा अनियन्त्रित भई करिब १५० मिटर तल खसेको थियो।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरी टोलीले चालकसहित दुई जनालाई उद्धार गरी उपचारका लागि नुवाकोटको त्रिशूली अस्पताल पठाएको थियो।
उपचारका क्रममा कालिका गाउँपालिका–१ निवासी अन्दाजी ३९ वर्षीय चालक पासाङनुर्पु थोक्राको मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी रमेश रायले जानकारी दिनुभयो।
दुर्घटनामा घाइते भएका सोही स्थानका पेम्बाछिरिङ तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ।

