शिवपुरीको पहिरो: ‘एकैछिनमा फर्किन्छु’ भनेका फुलमान सधैँका लागि बिदा भए
• भरतसन्तोषी लामा
नुवाकोट,चैत १२— शिवपुरी गाउँपालिका–३ लक्ष्मेश्वरीमा बुधबार दिउँसो घटेको एक घटनाले सिंगो गाउँलाई स्तब्ध बनायो। सडक स्तरोन्नतिको काम भइरहेको ठाउँमा अचानक खसेको पहिरोले स्काभेटर पुरिँदा दुई जनाको ज्यान गयो—२४ वर्षीय चालक अमृत तामाङ र गाउँकै सक्रिय युवा फुलमान तामाङ। यो केवल दुर्घटना होइन, एउटा अधुरो सपना र एक परिवारको उजाडिएको संसारको कथा हो।
बागमती प्रदेश सरकारको करिब ९ लाख रुपैयाँ लागतको योजना अन्तर्गत पूर्वाधार विकास कार्यालय नुवाकोटसँग सम्झौता गरी उपभोक्ता समितिमार्फत काम भइरहेको थियो। सोही समितिका कोषाध्यक्ष थिए—फुलमान। विकासका लागि सधैं अगाडि बढ्ने, गाउँको काममा सक्रिय रहने, सबैसँग मिलेर हिँड्ने स्वभावका उनी त्यही कामको अनुगमन गर्न पुगेका थिए।
घरबाट निस्कँदा उनले श्रीमतीलाई भनेका थिए—“म एकैछिनमा फर्किन्छु…” तर त्यो वाचा कहिल्यै पूरा भएन। पहिरो एक्कासी खस्यो। स्काभेटर पुरियो। र त्यसैसँगै पुरियो—एउटा परिवारको सहारा, दुई बालकको भविष्य, एक वृद्ध आमाको अन्तिम आशा।
घरमा अहिले रुवाबासी छ। करिब ७० वर्षकी आमा छिन्—छोराको बाटो हेर्दै। श्रीमती सविना अर्धचेत अवस्थामा छिन्—विश्वास गर्न नसक्ने पीडामा डुबेर। दुई साना छोराहरू—अझै बुझ्न नसकेको उमेरमा—बुबाको अनुहार खोजिरहेका छन्।
फुलमान केवल एक व्यक्ति थिएनन्, उनी गाउँको आशा थिए। नेपाल कम्युनिस्ट पार्टीका वडा कमिटी सदस्यसमेत रहेका उनी समाजसेवा र विकासप्रति समर्पित युवा थिए। शिवपुरी–३ का वडाध्यक्ष नाती तामाङ भक्कानिँदै भन्छन्,“उनी जस्तो सहनशील र केही गरौँ भन्ने मान्छे पाउनै गाह्रो छ। गाउँको विकासका लागि सधैं अघि सर्ने मान्छे गुमायौँ।”
५–६ वर्षअघि बनेको सडकलाई अझ राम्रो बनाउने प्रयास भइरहेको थियो। तर विकासकै कामले आज एउटा घर उजाड बनायो, गाउँभरि आँसु छर्यो। पहिरोले केवल दुई जनाको ज्यान लिएन—यसले एउटा सपना मारेको छ, एउटा परिवार तोडेको छ, र एउटा अनुत्तरित प्रश्न छोडेको छ—के विकासको बाटो यति जोखिमपूर्ण हुनैपर्छ?

