पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ — हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिक बदली भएको छ। कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लागेको छ।
बिहीबार दिउँसो पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मौसम प्रायः सफा रहने मौसम पूर्वानुमान गरिएको छ। सबै प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको जनाइएको छ।
आज राति पनि पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराई भू–भागमा आंशिक बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

