बागमती प्रदेशको बजेट निर्माण प्रक्रिया सुरु, आगामी वर्ष बजेट आकार घट्ने संकेत



काठमाडौँ,चैत १२— बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत अनुमान तथा मूल्याङ्कन सम्पन्न गर्दै बजेट तयारीको गृहकार्य अघि बढाएको हो।

बजेट स्रोत व्यवस्थापन समितिको बैठकले प्रदेशको वर्तमान आर्थिक अवस्थाको समीक्षा गर्दै आगामी बजेटको सम्भावित आकार र स्रोत बाँडफाँटको प्रारम्भिक खाका तयार गरेको छ। समितिमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङको नेतृत्वमा मन्त्रालयका निमित्त सचिव नुमानन्द अधिकारी, बजेट महाशाखा प्रमुख तथा नेपाल राष्ट्र बैंकका निर्देशक सदस्य सहभागी रहेका छन्।

आगामी आर्थिक वर्षको बजेट चालु वर्षको तुलनामा घट्ने देखिएको छ। मन्त्री तामाङका अनुसार करिब १७ अर्ब रुपैयाँ (२५.८९ प्रतिशत) ले बजेट घट्ने अनुमान गरिएको छ। आगामी वर्षका लागि करिब ५० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी भइरहेको छ, जबकि चालु आर्थिक वर्षमा ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट कार्यान्वयन भइरहेको छ।

प्रदेशको बजेटमा सबैभन्दा ठूलो हिस्सा राजस्व बाँडफाँटबाट आउने अपेक्षा गरिएको छ। यस शीर्षकबाट ३० अर्ब ८९ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ, जुन कुल बजेटको आधाभन्दा बढी हो। त्यस्तै सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानतर्फ १३ अर्ब ८१ करोड रुपैयाँ आउने प्रक्षेपण गरिएको छ भने आन्तरिक आयबाट ४ अर्ब १२ करोड रुपैयाँ मात्रै सङ्कलन हुने अनुमान छ।

मन्त्री तामाङका अनुसार चालु आर्थिक वर्षपछि करिब पाँच अर्ब रुपैयाँ नगद मौज्दात मात्र बाँकी रहने भएकाले आगामी बजेटको आकार खुम्चिने अवस्था सिर्जना भएको हो।

प्रतिक्रिया दिनुहोस्