नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वारा शपथ ग्रहण सम्पन्न



काठमाडौँ,चैत  १२ — नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सदस्यहरूलाई शपथ गराउनुभएको हो।

यसअघि ज्येष्ठ सदस्य केसीले बुधबार रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा (५) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम शपथ लिने व्यवस्था गरिएको हो।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको छ।त्यसैगरी नेपाली कांग्रेसले ३८, नेकपा एमालेले २५, नेपाल कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन्।

शपथ ग्रहणसँगै नवनिर्वाचित सांसदहरूले औपचारिक रूपमा आफ्नो संसदीय जिम्मेवारी सम्हाल्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्