नेप्सेमा दोहोरो अङ्कको सुधार, परिसूचक २,९५० माथि
काठमाडौँ,चैत १२ — यो साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ। आज नेप्से १४.२१ अङ्कले बढेर २,९५०.१६ विन्दुमा पुगेको हो।
आज ३४३ कम्पनीको ३ करोड ४ लाख ३८ हजार ३१५ कित्ता शेयर १ लाख ४२ हजार ७३४ पटक खरिदबिक्री हुँदा कुल १३ अर्ब १६ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।
समूहगत रूपमा विकास बैंक, जीवन बीमा र व्यापार समूहमा सामान्य गिरावट देखिए पनि अन्य अधिकांश समूहका उपसूचक उकालो लागेका छन्। बैंकिङ, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य समूहमा वृद्धि देखिएको छ।
आज रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड र होटल फरेन्ट इन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। भने पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रहँदै करिब ९४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै १४ लाख ८३ हजार ३३१ कित्ता शेयर किनबेच भएको छ।
समग्रमा बजारमा सकारात्मक माहोल देखिँदै लगानीकर्तामा उत्साह बढेको देखिएको छ।

