विद्युत् ट्रिपिङमा उल्लेख्य सुधार, उपभोक्तालाई राहत



काठमाडौँ, चैत १२ । देशभर छिनछिनमा विद्युत् जाने (ट्रिपिङ) र आपूर्ति अवरोध हुने समस्यामा चालु आर्थिक वर्षमा उल्लेख्य सुधार देखिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा २०८२/८३ मा ट्रिपिङको सङ्ख्या र विद्युत् अवरोधको समय दुवै घटेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरण, साथै समस्या देखिएका स्थानमा तत्काल गरिएको प्राविधिक सुधारका कारण यो उपलब्धि सम्भव भएको हो। “एक वर्षअघिको तुलनामा ट्रिपिङमा उल्लेख्य कमी आएको तथ्याङ्कले पुष्टि गरेको छ,” उहाँले भन्नुभयो।

तथ्याङ्कअनुसार साउनदेखि फागुनसम्मको अवधिमा ट्रिपिङ र विद्युत् अवरोध दुवैमा कमी आएको छ। उदाहरणका रूपमा, साउनमा अघिल्लो वर्ष १२९ पटक ट्रिपिङ हुँदा ५९ घण्टा अवरोध भएको थियो भने चालु वर्ष ११५ पटक ट्रिपिङ हुँदा ४४ घण्टामा झरेको छ। यस्तै, भदौमा १२८ पटकबाट घटेर ११५ पटक र अवरोध ६४ घण्टाबाट ४१ घण्टामा सीमित भएको छ।

मङ्सिर, पुस, माघ र फागुनमा पनि ट्रिपिङको सङ्ख्या तथा अवरोध समय उल्लेख्य रूपमा घटेको प्राधिकरणले जनाएको छ। सातै प्रदेशमा यो सुधार देखिएको छ।

शाक्यका अनुसार ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान, लोड व्यवस्थापन र दक्ष जनशक्ति परिचालनमार्फत सुधारलाई निरन्तरता दिइएको छ। यसबाट उपभोक्ताले गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पाउन थालेको विश्वास प्राधिकरणको छ।

यद्यपि चैतदेखि असारसम्म हावाहुरी र वर्षाका कारण ट्रिपिङ बढ्ने सम्भावना रहने भए पनि अघिल्लो वर्षको तुलनामा समस्या घटाउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्