नुवाकोट २ का सांसद डा. अचुतम लामिछानेद्वारा सचिवालयका लागि भोलेन्टियर आह्वान
नुवाकोट,चैत १२— नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अचुतम लामिछानेले आफ्नो सचिवालयका लागि भोलेन्टियर (स्वयंसेवक) आह्वान गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना जारी गर्दै नुवाकोट र काठमाडौँस्थित सचिवालयमा विभिन्न क्षेत्रमा दक्ष विद्यार्थी तथा विज्ञहरूलाई योगदान गर्न आग्रह गर्नुभएको हो।
सांसद लामिछानेका अनुसार जनसेवा, नीति विश्लेषण, अनुसन्धान तथा विकासका कामलाई प्रभावकारी बनाउन स्वयंसेवक आवश्यक परेको हो। सार्वजनिक नीति तथा सुशासन, अर्थशास्त्र, समाजशास्त्र, कृषि, वन तथा वातावरण, सूचना प्रविधि, स्वास्थ्य, सञ्चार, कानुन तथा मानव अधिकार लगायतका क्षेत्रमा ज्ञान, सीप र अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइने जनाइएको छ।
इच्छुक आवेदकहरूले आफ्नो शैक्षिक योग्यता, अनुभव, रुचि र उपलब्ध समय स्पष्ट उल्लेख गरी आवेदन दिन सक्नेछन्।स्वयंसेवकहरूले जनप्रतिनिधिसँग प्रत्यक्ष सहकार्य गर्दै व्यवहारिक अनुभव हासिल गर्ने अवसर पाउने पनि उल्लेख गरिएको छ। आवेदन दिने अन्तिम मिति २०८३ वैशाख १ गते तोकिएको छ।कार्यस्थल नुवाकोटको बट्टार हावाघरस्थित सचिवालय तथा काठमाडौँको बालाजु–१६ चमति (बागमती प्रदेश सम्पर्क कार्यालय नजिक) रहनेछ।
थप जानकारीका लागि ९८४३६४४२८५ र ९८६१३४१४७२ नम्बरमा सम्पर्क गर्न सकिनेछ भने इमेलमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश सभापति समेत रहेका लामिछाने नुवाकोट–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ। उहाँले जिल्लावासी तथा काठमाडौँमा बसोबास गर्ने नुवाकोटे नागरिकका समस्या सुन्न छुट्टाछुट्टै सचिवालय सञ्चालनमा ल्याउनुभएको छ।

