जिम्मेवारीबाट बिदा हुँदै प्रधानमन्त्री कार्की : ‘केही सन्तुष्टि, धेरै आशा’



काठमाडौँ,चैत १३ — प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएर आफू जिम्मेवारीबाट बिदा हुन लागेको बताउनुभएको छ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देश सङ्कटमा रहेका बेला जिम्मेवारी सम्हालेको स्मरण गर्दै अहिले केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुन लागेको उल्लेख गर्नुभयो।

“देश सङ्कटमा रहेका बेला केही आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वासका साथ म यहाँ आएकी थिएँ,” उहाँले भन्नुभयो, “छ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्य पूरा भएको छ।”

गत भदौ २७ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा मनमा रहेको डर र अनिश्चितता अहिले सन्तुष्टिमा परिणत भएको उहाँको भनाइ छ। नयाँ निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले शपथ लिइसकेको र नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेका बेला उहाँले आफ्नो कार्यकालको समापनतर्फ उन्मुख भएको संकेत गर्नुभएको हो।

प्रधानमन्त्री कार्कीले परिवर्तनकामी युवा पुस्ताको अपेक्षा अनुसार लोकतान्त्रिक प्रक्रिया अघि बढाउन आफूले प्रयास गरेको उल्लेख गर्दै आगामी सरकारप्रति आशावादी रहेको पनि बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्