चैते दसैँसँगै सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु



काठमाडौँ,चैत १२ — चैते दसैँको अवसर पारेर सेतो मच्छिन्द्रनाथ जात्रा बिहीबारदेखि सुरु भएको छ। मच्छिन्द्र बहालबाट आर्यालोकितेश्वरको मूर्तिलाई बाहिर निकालेर भक्तजनको लावालस्करसहित तीनधारा पाठशालामा निर्माण गरिएको शिखर शैलीको रथमा विराजमान गराएपछि जात्रा रथयात्राका रूपमा अघि बढेको हो।

पहिलो दिन तीनधारा पाठशालाबाट रत्नपार्क हुँदै असन चोकसम्म रथयात्रा गरिएको थियो। दोस्रो दिन असनबाट बालकुमारी, इन्द्रचोक, मखन हुँदै हनुमानढोका दरबार परिसर पुर्‍याइनेछ भने तेस्रो दिन हनुमानढोका, मरु, चिकंमुगल, जैसीदेवल हुँदै लगनसम्म पुर्‍याएर रथयात्रा सम्पन्न गरिनेछ।

लगनमा रहेको आमा रुखको परिक्रमा गरेपछि मूर्तिलाई रथबाट निकालेर खटमा राखी विभिन्न स्थान परिक्रमा गराउँदै पुनः मच्छिन्द्र बहालमा ल्याई मन्दिरमा प्रतिस्थापन गरिने परम्परा रहेको छ। हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनदेखि सुरु हुने यस जात्राको परम्परा राजा शिवसिंह मल्लको पालादेखि चलिआएको मानिन्छ। नेवार समुदायमा प्राचीनकालदेखि नै करुणामय सेतो मच्छिन्द्रनाथको रथयात्रा विशेष धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ मनाइँदै आएको छ।

सेतो मच्छिन्द्रनाथलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीले समान श्रद्धाका साथ पूज्ने गरिन्छ। काठमाडौँ उपत्यकामा रहेका चार लोकेश्वरमध्ये सद्भावका देवताका रूपमा सेतो मच्छिन्द्रनाथलाई विशेष रूपमा मानिन्छ।

रथयात्रामा सुनिता डङ्गोललगायत जनप्रतिनिधि तथा ठूलो सङ्ख्यामा श्रद्धालुहरूको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्