रास्वपाको संसदीय दल नेतामा बालेन शाह, प्रधानमन्त्री बन्ने तयारी



काठमाडौँ,चैत १३ — प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ।

बिहीबार चःमतिस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले संसदीय दलसम्बन्धी विधान परिमार्जन गर्दै शाहलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरिएको जनाइएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअघि भएको सहमतिअनुसार शाहलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउने सहमति कार्यान्वयन गरिएको हो। सोही अनुसार विधानको धारा ८० अन्तर्गतको बाधा अड्काउ फुकाउँदै केन्द्रीय समितिले आफ्नो अधिकार प्रयोग गरी संशोधन गरेको बताइएको छ।

शाह संसदीय दलको नेता चयन भएसँगै उहाँलाई प्रधानमन्त्रीका रूपमा शपथग्रहण गराउने तयारी गरिएको छ। रामचन्द्र पौडेलले शुक्रबार अपराह्न शीतल निवासमा संविधानको धारा ७६ (१) अनुसार शाहलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।

नयाँ सरकार गठनका लागि सभापति लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेबीच निरन्तर छलफल भइरहेको छ। सरकारलाई सुशासन र मितव्ययितामा केन्द्रित गर्दै १५ देखि १८ सदस्यीय सानो मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिएको जनाइएको छ।

शपथग्रहण समारोहलाई सांस्कृतिक रूपमा विशेष बनाउने तयारीसमेत गरिएको छ। १०८ जना बटुकद्वारा स्वस्ति–शान्ति वाचन, १६ जना बौद्ध भिक्षुद्वारा मङ्गल पाठ तथा सातवटा शङ्खबाट शङ्खनाद गरिने कार्यक्रम तय गरिएको छ।

रास्वपाले मन्त्री चयन गर्दा विषयगत दक्षता र अनुभवलाई प्राथमिकता दिने जनाएको छ। साथै, सरकार गठनसँगै प्रतिनिधिसभाको सभामुख, प्रमुख सचेतकलगायत पदहरू चयन गर्नेबारे पनि छलफल जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्